मेरो योगदानमा खुशी भन्दा वर्तमान परिस्थितिको चिन्ता बढी

हिमालय शमशेर जवरा नेपालको पहिलो अर्थसचिव र नेपाल राष्ट्र बैँकको पहिलो गभर्नर हुन् । २००७ सालमा राणा शासनको अन्त्यपछि बनेको ५–५ सदस्यीय राणा र कँग्रेसको मन्त्रीमण्डलमा सुवर्ण शमशेर अर्थमन्त्री हुँदा हिमालय शमशेरलाई अर्थसचिव नियुक्त गरियो भने पछि नेपाल राष्ट्र बैँक स्थापना भएपछि उनैलाई नै पहिलो गर्भनर नियुक्त गरियो । प्रस्तुत छ अल्पविरामका यज्ञराज पाण्डेले तिनै पहिलो अर्थसचिव र गर्भनर हिमालय शमशेर जवरासँग गरिएको विशेष सम्वाद :

सामान्यतया राणा परिवारमा जन्मिएका सन्तानहरु विलासी र मोजमस्तिको जीवन बिताउँछन् भन्ने सुनिन्छ, तपाईँको आफ्नो बाल्यकाल कस्तो थियो ?
म राणा परिवारमा जन्मिएको भए तापनि तपाईँले सोचेजस्तो विलासीको जीवन मैले बिताउन पाईँन । हामी देव शमशेरका पनाती भएकाले हामीसँग अरु राणा जति त्यति धेरै सम्पति र विलासीको जीवन थिएन, जम्मा ११४ दिन मात्रै उहाँले शासन गर्नुभएकोले थोरै मात्र सम्पत्ति जुटेको थियो । सामान्य रुपमा खान लाउन पुगेको थियो र शिक्षा दिक्षा पनि पाएका थियौँ । घरमै प्राध्यापक आएर पढाउनु हुन्थ्यो । १४ वर्षको उमेरमा स.एल.सि. पास गरी आइ.ए.सम्मको शिक्षा दरबार हाइस्कुलबाट लिएको थिएँ ।

प्रजातन्त्र पछि तपाईँलाई अर्थ सचिवमा नियुक्ति गरियो र पछि नेपाल नेपाल राष्ट्र बैँकको स्थापना भएपछि पहिलो संस्थापक गर्भनर पनि तपाईँलाई नै नियुक्त गरियो, के थियो योग्यता त्यसका लागि ? कि राणाको कुलकै भनेर तपाईँलाई नियुक्त गरिएको हो ?
नेपालमा राणा शासन अन्त्य भएर प्रजातन्त्र आइ सकेपछि जनताको शासनमा पनि म राणा भएर नियुक्ति दिएको भन्ने प्रश्न नै रहँदैन । मैले त्रिचन्द्रबाट आइ.ए.को अध्ययन सकाएपछि भारतबाट अर्थशास्त्रमा एम.ए. उत्तीर्ण गरेको हुँ । मुम्बइमा रहँदा हरेक हप्ताको एकदिन ब्रिटिश विरुद्ध ‘इन्कलाव जिन्दावाद’ भन्ने आन्दोलन भइ रहँदा त्यसबाट म प्रभावित भएर नेपालमा पनि अब प्रजातन्त्र ल्याउनुपर्छ भनी राणविरोधि आन्दोलनमा सक्रिय हुँदै २००५ सालमै प्रजातान्त्रिक कँग्रेसको सदस्यता लिएर सुवर्ण शमशेरहरुसँगै राणा विरोधि आन्दोलनमा लागेको हुँ । जब प्रजातन्त्र पछि ५।५ राणा र कँग्रेस मन्त्रीमण्डल बन्यो त्यसमा अर्थमन्त्री बनेका सुवर्ण शमशेरले अर्थसचिवका लागि अर्थशास्त्रमा एम.ए. गरेको विज्ञ मानिस खोज्नुभयो । त्यसबेला म लगाएत ४ जना मात्रै अर्थशास्त्रमा स्नातकोत्तर गरेका थियौँ । र पछि मलाई नै योग्य ठानी अर्थसचिव नियुक्त गरिएको हो ।

नेपाल बैँक लिमिटेड हुँदाहुँदै नेपाल राष्ट्र बैँकको स्थापना किन आवश्यक थियो र तपाईँलाई नै किन पहिलो गर्भनरका रुपमा नियुक्त गरियो ?
तपाईँले ठीक भन्नुभयो । नेपाल बैँक लिमिटेड नेपालमा स्थापना भएर यसले आफ्ना नियमित कार्यहरु सञ्चालन गरिरहेको थियो । तर त्यो समयमा नेपालको तराइ भेगमा जम्मै भारतीय रुपैयाँ मात्र प्रचलनमा थियो । त्यति मात्र नभइ उनीहरुलाई हाम्रो राष्ट्रपति राजेन्द्र र प्रधानमन्त्री जवहरलाल नेहरु भनेर पुस्तकहरुमा पढाइन्थ्यो । नेपाली मुद्रा पनि छ भनेर उनीहरुलाई जानकारी नै थिएन । सबै व्यापार भारतसँग थियो पकेट क्षेत्र जस्तै विराटनगरको आफ्नै खालको व्यापार, वीरगञ्जको आफ्नै खालको, पश्चिमका नेपालगञ्ज र महेन्द्रनगरको आफ्नै खालको तर सिँगो नेपालको भनेर थिएन । त्यसैले नेपालको तराई भेगभरि नै नेपाली मुद्रा प्रचलनमा ल्याउनु प¥यो भन्ने प्राथमिक उद्धेश्य राखेर राजा महेन्द्रले २०१३ सालमा नेपाल राष्ट्र बैँक स्थापना गर्न भनी उनका सल्लाहाकार गुञ्जनमान मार्फत ऐनको मसौदा मलाई अध्ययन गर्न दिइ इच्छा भए मलाई नै गर्भनर बनाउने भन्ने हुकुम भएको रहेछ । म अर्थसचिव भएर काम पनि गरी सकेको थिएँ र अनुभवका आधारले नै मलाई गर्भनरका लागि नियुक्त गरिएको हो ।

तपाईँ गभर्नर भइ सकेपछि नेपालको वित्तिय क्षेत्रमा आएको परिवर्तन के थियो ?
म गर्भनर भइसकेपछि राजाकै इच्छा बमोजिम पहिलो काम तराइमा नेपाली मुद्रा प्रचलनमा ल्याउनु थियो र त्यो केवल ऐन मात्रै बनेर सम्भव थिएन त्यसैले एउटा राम्रो उपाय भनेकै उनीहरुले भारु रुपैयाँ नेपाली रुपैयाँसँग साँट्न पाउने वातावरण बनाइ दिनु थियो । साँट्ने त भनियो तर त्यसको दर कति राख्ने भन्ने अर्को खोजको विषय थियो । त्यसैले गर्भनर नियुक्त भइ सकेपछि मैल तीन वर्ष लगाएर नेपालको आयात निर्यातलाई सुक्ष्म रुपमा अध्ययन गरी भारु सटही दर सय रुपैयाँ भारुको नेरु १६० हुने भनेर निक्र्यौल निकालेँ । तर यसलाई लागु गर्न त्यतिकै गाह्रो थियो । तराइका सबै भेगमा सटही काउन्टर राखेर सहजै नेपाली रुपैयाँ उपलब्ध गराउँदा पछि नेपालभरि नै नेपाली मुद्रा प्रचलनमा ल्याउन सफल भयौँ र रुपैयाँमा मात्र होइनकी भातृत्वमा पनि हामी सबै नेपाली हौँ भन्ने भावना तराइ लगाएत नेपालको सबै भूभागमा जागृत भएको थियो ।

आफ्नो जीवनको टर्निङ प्वाइन्ट केलाई मान्नुहुन्छ ? वित्तिय क्षेत्रको माथिल्लो तहसम्म काम गर्न पाउनु केको देन हो ।
बुवाको मलाई विज्ञान पढाउने इच्छा थियो तर मैले बम्बइ गइ आर्टस्मा बि.ए. गरेर आइ सकेपछि त्यो बेलाको चलन अनुसार प्रधानमन्त्रीलाई बक्सिस चढाउनु पथ्र्यो । पद्म शमशेरलाई म आर्टस्मा बि.ए. गरेर आएँ भन्दा उहाँले बि.ए. पढेर केही हुँदैन अर्थशास्त्रमा एम.ए. पढ भन्नुभयो । त्यसपछि मलाई पनि अर्थशास्त्र नै पढ्नुप¥यो भनेर फेरि अर्थशास्त्रमा एम.ए. पढ्न मुम्बइ गएँ र पछि मलाई अर्थशास्त्र नै पढेको भएर अर्थसचिव हुँदै गर्भनर बनाइयो । अनुभव र ज्ञान पनि आवश्यक थियो तर त्यही विषयमा मेरो अध्ययन नभएको भए म केही हुन पाउँदिन थिएँ होला । त्यसैले पद्म शमशेरको त्यो वचन साँच्चै ने मेरो जीवनको टर्निङ प्वाइन्ट नै थियो ।

नेपालको पहिलो अर्थसचिवदेखि गर्भनर समेत हुन पाउँदा आफूलाई कत्तिको गर्व लाग्छ ?
मलाई गर्वको कुरा भन्दापनि अहिलेको वित्तिय क्षेत्र लगाएत सम्पूर्ण आर्थिक क्षेत्रको अवस्थालाई लिएर चिन्ता लाग्छ । मैले त सरकारको प्रशासन क्षेत्रमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेको हुँ । तर अहिले आएर जुन गतिमा आर्थिक क्षेत्रमा रुपान्तरण आउनुपर्ने हो त्यो समयको परिवर्तन अनुसार आउन सकेको छैन । हामीसँग पर्याप्त मात्रामा स्रोत उपलब्ध हुँदाहुँदैपनि त्यसको सदुपयोग गर्न सकेका छैनौँ ।

कसरी यी समस्या समाधान होलान् ?
देशमा स्थायी सरकार बन्यो भने र बाहिरको लगानी भित्र्याउन सकियो भने हाम्रो अर्थतन्त्र अँझै बलियो भएर जान्छ ।

अन्त्यमा केही भन्नू छ ?
हामी नेपालीहरुको विविधताबीचको एकता साँच्चै उदाहरणीय छ, संस्कृतिमा सम्पन्न छौँ । तर जुन प्रकारले अर्थतन्त्रमा विकास आउनु पर्ने हो त्यो हुन नसक्दा देशको परिस्थिति बारे सोच्न बाध्य बनाउँछ । हाम्रो पालाको जति प्रशासन क्षेत्रमा जोश जाँगर र केही नयाँ गरौँ भन्ने इच्छाशक्ति पाईँदैन । भ्रष्टाचार पनि अलि धेरै मौलाएर जाँदैछ । यसले देशलाई नै अधोपगतितिर लैजान्छ । हामी सबैले कम्तिमा पनि आफ्नो कर्तव्यलाई इमान्दारीपूर्वक् निर्वाह ग¥यौँ भनेपनि देशको मुहार आफै फेरिन्छ ।

Comments

comments