व्यर्थको बहस

नेपाल विकासोन्मूख राष्ट्र हुँदाहुँदै पनि विकासका कार्यहरु जुन रुपले अघि बढ्नु पर्ने हो त्यो नहुन सक्नु आफैमा विडम्बना हो । तेस्रो मुलुकका रुपमा दर्जा पाएर विकासको पगतिमा सँधै पछि परि रहँदा पनि यसले अँझै समृद्धिको गति लिन नसक्नु देशको दुर्भाग्य हो, जनताको वास्तविक रुपान्तरणप्रति चाहनाको कमी हो । राष्ट्रका स–साना व्यर्थका बहस र अल्झनमा देश अल्झेको छ । खोक्रा विचार र सिद्धान्तको चाङमा दबेको दम्भलाई परिस्कृतबाटै प्रोत्साहन गरी रहेका छौँ, वास्तविकता र यर्थाथताभन्दा निकै पर सरेर काल्पनिकतालाई सत्य ठानी ज्ञानको अर्को नाम दिइ रहेका छौँ ।

तथ्य एकातिर छ तर सतही रुपमा हाम्रो सोचले भ्याएसम्मका कुराहरु यसरी व्याख्या गर्दैछौँकी मानौँ आफू बाहेक जान्नेबुझ्ने कोइ छैन अरु यहाँ । सनातिना घटनाहरु घट्नु देशमा स्वभाविक हो । त्यही पनि नागरिकहरुलाई यति धेरै अधिकार र स्वतन्त्रता दिएको छ की कसैलाई केही कुराको वास्ता नै नगरी आफ्नो अधिकार छ भन्दैमा अनधिकृत कार्य गर्न कत्ति पछि हट्न नसक्ने अवस्था । फेरि केही सानो घटना घटि हालेपनि अब त यसरी मानिसहरुको राय आउँछ एक से एक विश्लेषक निस्किन्छन् यहाँ सुन्ने त साहस कसमा पो छ र ? अध्ययन र खोज मार्फत सत्यकुरालाई उजागर गर्ने चेष्टा कसले राखोस् ?

लोकमान सिँह कार्की अख्तियारमा परिसकेपछि एकाएक उनको मुद्धालाई लिएर सबैले सामाजिक सञ्जाल मार्फत् आ–आफ्ना अभिव्यक्ति दिए, मानौँ अभिव्यक्ति नदिँदा उनीहरुको अस्तित्व संकटमा पर्न जान्छ । त्यसैगरी सुशीला कार्कीमाथि महाभियोग दर्ता हुँदा नागरिकको मत विभाजन भयो, कसैले सरकारको पक्ष लिए त कसैले न्यायालयको । निकै चर्काचर्की बहस नै चल्यो सामाजिक सञ्जालमा, फाट्फुट्ट कहिँ कतै विरोध कार्यक्रमपनि आयोजना भए । त्यस्तै लोकमानसिँहको मुद्धाले पनि एक भिन्नै रुप लियो । एकातिर मेडिकल क्षेत्रको स्वच्छ सञ्चालनका लागि वकालत गर्दै आएका भनिएका गोविन्द केसी र अर्कोतिर न्यायालयको प्रमुख भूमिकामा रहेका प्रधान न्यायाधीश गोपाल पराजुलीको द्वन्द्व । निकै ठूलो विवादमा चल्यो । यहाँ पनि नागरिकको जनादेश दुई खेमामा विभाजित भयो । त्यस्तै अरु विषयहरु सीमा सुवेदीका कुरालाई गाइँगुइँ र कतै फेसबुकमा हल्ला मच्चाउँदै हिँड्ने साकार भन्नेका गफमै गफिएको छ नेपाली समाज ।

तर हामीले खोजेको वास्तविक विकास र रुपान्तरणको मार्गमा के हामी साँच्चै नै दत्तचित्त भएर लागेका छौँ त । गर्ने बेलामा हामी विकास र निकासका कुरा गर्छौँ तर आज साँच्चिकैमा हामीले हाम्रा सोचहरुलाई प्रयोगात्मक रुप दिन सक्यौँ र ?

सामाजिक सञ्जालकै भित्तामा नानाथरी लेख्न हामी तल्लिन छौँ तर वास्तवमा एक जिम्मेवार नागरिकका नाताले जे गर्नु पर्ने हो देशलाई संकट आइपर्दा दायित्वबोध गरेर जे समाधान दिनुपर्ने हो के साँच्चैमा त्यसतर्फ हामी अग्रसर भयौँ र ? यस्ता अनुत्तरित अनगिन्ति प्रश्नहरु छन् उत्तर खोतल्नु पर्ने जुन हामीलाई थाहा हुँदाहुँदै पनि व्यर्थका वहसमा समय व्यतित गरिरहेका छौँ ।

खोइ त हामीले हाम्रो राष्ट्रियताको जगेर्नामा आवाज उठाएको ? खोइ त हामीले गरीबी र भोकमरी उन्मूलनमा आवाज उठाएको, खोइ त हामीले महङ्गीका विरोधमा आवाज उठाएको ? खोइ त हामीले हाम्रो देशको पर्यटन प्रवद्र्धनका लागि एकजुट भएको, नेपाल सँधै सुन्दर मुलुक भन्दै बस्ने होकी सुन्दरताको सदुपयोग गर्दैै देश विकासले हराभरा पार्ने हो ?

व्यर्थका बहसमा हाम्रो किम्ति समय बित्दैछ । राष्ट्रियताका कुरामा, आत्मनिर्भरताका कुरामा, समृद्धिका कुरामा, हाम्रा कला संस्कृति र सभ्यताका कुरामा, सामाजिक व्यवहारका कुरामा, राष्ट्रको अबको बाटो नीति र निकासका बारेमा यथेष्ट छलफल र बहस गर्दै साँच्चिकै व्यवहारमा उता¥यौँ भने हाम्रा वहस विमर्शको अर्थ रहन्छ, सकरात्मक उर्जामा देशले परिवर्तनको बाटो अँगाल्छ हैन भने सँधै व्यर्थको बहसको अल्झनमा अँझैपनि परिरहने हो भने हामी कहीँ पुगिँदैन । हामी जति उफ्रपनि हाम्रो उचाइको गहिराइ सतहमा सिमीत रहन्छ ।

Comments

comments