जोखिमयुक्त भूकम्प पीडितहरूको घर निर्माणमा प्राधिकरणको पहल

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्प पीडितहरूको घर निर्माणको लागि पहल गरेको छ ।

प्राधिकरणले ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका असक्त एकल महिला, दृष्टिविहीन लगायतका रातो तथा निलो कार्डधारी अपांगता भएका व्यक्तिहरू तथा १६ वर्ष मुनिका नाबालिगहरुको घरबासको व्यवस्था गर्न एक कार्यविधि तयार गरी लगत सङ्कलनको कार्य अघि बढाइएको छ ।

प्राधिकरणको एमआईएस शाखाले १४ अति प्रभावित जिल्लामा करिब १६ हजार २ सय ५ जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक आँकडा निकालेको छ । प्राधिकरणले स्थानीय सरकारहरुमार्फत् यी वर्गका लाभग्राहीको लगत माग पनि गरेको छ । लाभग्राहीको सङ्ख्या निश्चित भएपछि प्राधिकरणले विभिन्न परोपरकारी संस्थालाई घर निर्माणका लागि आह्वान गर्ने योजना बनाएको छ ।

यसैक्रममा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा अन्य उच्च अधिकारीले बेलायती विकास नियोग ‘डिफिड’का प्रतिनिधिहरूसँग यसबारेमा छलफल गर्नु भएको छ । प्राधिकरणमा आएको डिफिड, नेपालका पुनर्निर्माण सल्लाहकार म्याग्नस मुरे तथा भूकम्पपछिको पुनर्निर्माण टिमका प्रमुख लियोनार्ड टेडसहितको टोलीले ती वर्गको भूकम्प पीडितको घर निर्माण गर्ने ढाँचाबारे आफ्नो धारणा राखेको थियो ।

प्राधिकरणले यी वर्गका पीडितको घर निर्माण गर्न आफ्नो कार्यविधि र अन्तिम सूचीअनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बृहत् छलफल गर्ने योजना पनि बनाएको छ ।

Comments

comments