मनोनित थप तीन जना सांसदले लिए शपथ

काठमाडौँ — केपी ओली सरकारले सिफारिस गरेका तीन जना सदस्यले राष्ट्रिय सभामा शपथ लिएका छन् । युवराज खतिवडा, विमला पौड्याल राई र रामनारायण बिडारीले शुक्रबार बिहान करिव साढे ११ बजे राष्ट्रिय सभाको कक्षमा राष्ट्रिय सभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिएका हुन् ।

सपथग्रहण गरेपनि उनीहरुले राष्ट्रपति निर्वाचनमा भने भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचनमा मतदान गर्नको लागि गएको मंगलबा नै मतदाता नामावली प्रकाशन गरिसकिएकोले यी तीन जनाले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

ढकालले भने, ’राष्ट्रपति निर्वाचनको कार्यतालिकादेखि मतदाता नामावली प्रकाशन भइसकेको छ। उहाँहरुले भर्खरै शपथ लिनु भएको छ। त्यसैले उहाँहरुको मतदाता नामावलीमा नाम हुन्न। अनि भाग लिन पाउनुहुन्न ।’

तर ढकालले उनीहरुले भाग लिन पाउने सम्भावना भने कायमै रहेको बताए । उनले भने, ’राष्ट्रपति निर्वाचन अधिकृत कार्यालयले उहाँहरु तीन जनाको हकमा भाग लिनका लागि नाम सिफारिस गरेर आयोगमा लेखि पठाएमा ’बाधा,अड्चन फुकाउ’ भनेर आयोगले निर्णय गर्न सक्ने छ ।’

उनीहरुलाई राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेकी थिइन् । मनोनीत गरेपछि उनीहरु विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले तत्काल शपथ नगराउनु भनेर अन्तरिम आदेश दिएको थियो ।

शपथ रोक्न दिएको अन्तकालिन आदेश खारेज गर्दै बुधबार न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले तीन जनाको शपथ फुकुवा गरेको थियो ।

Comments

comments