जिल्ला नम्बर-७६

यदि दुःखको कहीँ पराकाष्ठा छ भने त्यो हो बाजुरा
यदि सम्भावनाको कहीँ पराकाष्ठा छ भने त्यो हो बाजृुरा
आत्मसन्तुष्टि र सौहार्दता जनमानसमा भैगयो नै
यदि जीवनको कहीँ पराकाष्ठा छ भने त्यो हो बाजुरा ।

राजधानी भन्दा कोशौँ पर तर प्राकृतिक सौन्दर्यको निकै नजिक, भौतिक सुविधासम्पन्नताबाट निकै टाढा तर प्राकृतिक स्रोतको सामिप्यतामै । विकासका हिसाबमा भौगोलिक बनावट यति जटिल छ कि भूगोलबाटै ठगिएको ठाउँ बाजुरा भन्दा गल्ति हुँदैन । तर यसो भनिरहँदा भौगोलिक विविधताले भरिपूर्ण जिल्ला बाजुरा भन्ने कटु सत्यतालाई बिर्सनै मिल्दैन । खडेरी र भोकमरीले नसताएको कुनै वर्ष हुँदैन तर अन्त विरलै पाइने अन्नपात यहाँ पाईन्छ –चिनो, मास्र्या, कोदो, जैतुनको तेल, विविध परिकारको पौष्टिक सिमी (राज्मा), चोतो (गान्टे मुला) लगाएत । बिजुलीको अभावमा अँध्यारो छ बाजुरा तर अत्यधिक मात्रामा विद्युत उत्पादन शक्ति भएको कर्णाली यही जिल्ला भइ बग्दछ । सिटामोल समेत नपाएर सामान्य बिमारीमै ज्यान गुमाउनेको संख्या धेरै छ यहाँ कारण सामान्य स्वास्थ्यचौकि समेत नभएर तर क्यान्सर रोगलाई समेत निको पार्न सक्ने जडिबुटीको प्रबलता छ यहाँका वन जङ्गलमा । पर्यटकहरुको निकै कम मात्रामा आगमन हुन्छ यहाँ तर यसको मतलब यो होइन की यहाँ पर्यटकीय स्थलको कमी । यो जिल्ला धार्मिक स्थलका हिसाबले महत्वपूर्ण त छँदैछ तर पर्यटकीय र साँस्कृतिक हिसाबले समेत समृद्ध छ । त्यसो भए मानव विकास सुचांकमा यो जिल्ला सबैभन्दा तल किन ? साक्षरताका हिसाबमा यो जिल्ला सबैभन्दा पछाडि किन ? एकदमै न्युन मात्रामा रोजगार किन ? समग्र राष्ट्र विकासोन्मूखको एउटा बाटोमा तर पनि बाजुरा ७६ औँ नम्बरमा किन ?

यस्ता असंख्य प्रश्न छन् अब केलाउनु पर्ने समाधान खोतल्दै जानु पर्ने । जुन संरचनामा राष्ट्रको शासनसत्ताको वर्गीकरण र शक्तिको बाँडफाँड भएको छ यो संरचनामा पनि अब बाजुरामा विकासको मुहान फूट्दैन भने औपचारिक रुपमै घोषणा गरीदिए हुन्छ बाजुरा जिल्ला नम्बर ७६ । नेपालको ७५ जिल्लामा नअटाउने नेपालभन्दा धेरै परको जिल्ला ।

विकासका कुनै पुर्वाधारले छोएको छैन भन्दा पनि स्विाकार्य छ बाजुरामा । बल्लबल्ल सदरमुकाम मार्तडीमा कच्ची सडकले छोएको छ तर बर्खामा बाढीले असर पु¥याउँदा त्यो पनि बन्द । अँझैपनि ४–५ दिन लगातार हिँडेर आफ्नो घर पुग्नु पर्ने समस्या ज्युँ का त्युँ छ । कहिँ कतै बिजुली छ तर अस्थायी, कुन बेला खोला सुकेर वा भत्केर जाने हो अत्तोपत्तो छैन, अधिकांश स्थानमा बत्ति भनेको के हो आकाशको फल आँखा तरी मर बराबर छ । सञ्चारको माध्यम सदरमुकाम र छेउछाउका बस्तीतिर मात्रै भए तापनि २१८८ वर्ग कि.मी.मा फैलिएको यस जिल्लामा सञ्चारको माध्यम लगभग सुन्यतामा छ ।

बाजुराबाट अन्य ठाउँमा फोन सम्पर्क गर्नुपरेमा पहिले मानिसको हातमा मोबाइल हुन आवश्यक छ, बाजुरामा आयस्रोतका माध्यमहरु खास्सै केही नहुँदा मोबाइल किन्ने पैसा जुटाउनै धौधौ । यदि मोबाइल हातमा भइहाले त्यसमा चार्ज हुन गाह्रो किनकी बत्ति नै हुँदैन, सोलार पनि सबैको घरमा हुँदैन भइहाले पनि मोबाइल चार्ज गर्ने क्षमता हुँदैन सोलारमा । यदि चार्ज भयो भने मोबाइलमा व्यालेन्स नहुन सक्छ, ब्यालेन्स रिचार्ज गरौँ भन्दा रिचार्ज कार्ड सहजै पाउनसकिँदैन किनकी यातायातको सुविधा नहुँदा त्यहाँका पसलहरुमा रिचार्ज कार्ड पाउन गाह्रै पर्छ । अब यी सबै कुरा भइ सकेपश्चात फोन सम्पर्क गरौँ भन्दा नेटवर्क नै हुँदैन भइहाले पनि हेलो भन्दा लो मात्रै सुनिने अवस्था आइपर्छ । यो सबकुरा सुन्दा हास्यस्पद लाग्नसक्छ तर यही हो यथार्थ बाजुरेली जनताको ।

मानिसहरु दिनभरी खेतवारीको काम, घाँसदाउराको काममा खटिएका हुन्छन्, मिहेनत अनुसारको साग तरकारी, फलफूल, मिठो मसिनो खान पाउने भएनि हुने, तर नुन र कोदोको सुख्खा रोटिसँगै चलिरहेको छ गुजारा । नत्र किन हुन्थ्यो र ५८ वर्षको औसत जीवन आयु ।

सम्भावना नभएका होइनन् । बुढिनन्दा, बडिमालिका जस्ता स्थलहरु धार्मिक दृष्टिकोणले यति महत्वपूर्ण छन् की यिनको प्रवद्र्धन र प्रचार हुनसके पर्यटकको आयातमा वृद्धि भइ यहाँका जनताको आयस्रोमा वृद्धि हुन समय लाग्दैन, रोजगारीका अवसरहरु आफै सिर्जना हुन्छन् । कर्णाली नदीको पानीलाई हामीले सदुपयोग गर्न सके सिचाईँ देखि पर्यटनका विभिन्न सम्भावनाहरु जस्तै ¥याफ्टीङ समेत सञ्चालन गर्न सकिन्छ । मुगुको रारा जाने प्रवेशद्वार हो बाजुरा । यहाँ आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्न सके बाजुरेली जनताको आयआर्जनको स्रोत त्यसै बढ्छ । त्यसैले सम्भावना नभएका होइनन् स्रोत साधन जुटाउन नसकिएको हो ।

शिक्षामा सबैको पहुँच नभएको होइन । कमी हो त गुणस्तरको। एस.एल.सि. मात्र हो र ? उच्च माध्यमिक र स्नातक तहसम्म पढेकाहरु घरघरमा भेटिन सक्छन् । तर जागिर छैन कारण योग्यताको कमी । ५ कक्षा पुग्दा बल्ल पो ए, बि, सि, डी सिकाइन्छ सरकारद्वारा सञ्चालित विद्यालयहरुमा । यसरी जग नै कमजोर भएपछि कहाँबाट पाइयोस् जागिर ? कि त भारतमा गएर कामदार बन्ने या त विदेशको यात्रा आफ्नो घरपरिवार सबै छोडेर ।

बाजुरेली जनता निकै पर छन् विश्वले अँगालेका विकास र आधुनिक सुविधासम्पन्नबाट तरपनि जनता खुशी छन्, सबैमा मेलमिलापको भावना छ, निकै सोझा छन् यहाँका जनता । नेताहरुले विकास गर्दिन भनि सत्तामा नपुगेका होइनन्, मन्त्रीसम्म बनेका छन् तर पनि यहाँको स्थिति जस्ताको त्यस्तै छ । कछुवाको गतिमा सरकारी स्तरका योजनाहरु अघि बढ्दैछन् । कसैले भन्दापनि भन्दैनन् नेताहरुलाइै हामीलाई आवश्य पूर्वाधारहरु पु¥याइ देउ किनकी हामी पीडित छौँ, पछि छौँ भन्ने पनि ज्ञान छैन कत्तिलाई ।

पाँच वर्षका लागि नयाँ सरकार बन्दैछ स्थानीय सरकार बनिसक्यो । जितेका प्रतिनिधिहरुमा खुशीको सीमा छैन र मतदातामा उल्लासपूर्ण वातावरण । कुनै नेताले केही गर्देला भन्ने कुनै आश पनि छैन यहाँका जनतामा । पार्टीका कारणले जनताबीच भएको एकता नटुटोस्, भएका स्रोतसाधन त्यहीँका जनताले उपभोग गर्न पाउन् । ७५ जिल्लाभित्र अटाओस् बाजुरापनि ।

– यज्ञराज पाण्डे

Comments

comments