यार

पुस्तकको नाम : यार
विधा : संस्मरण संग्रह
लेखक : नयनराज पाण्डे
प्रकाशक : फाइन प्रिन्टस्

मान्छेको जीवनमा धेरै घटनाहरू आइपर्छन्, केही सुखद केही दुखद। केही त्यस्ता घटना हुन्छन्, जुन मानिसको जीवनका ‘टर्निङ प्वाइन्ट’ बनिदिन्छन्।तर यस्ता घटनालाई मान्छेले समयअनुसार विस्तारै बिर्संदै जान्छन्। आख्यानकार नयनराज पाण्डेले भने आफ्नो जीवनमा महत्त्वपूर्ण भूमिका रहेका यस्ता घटनालाई समेटेर एउटा संस्मरण नै तयार पारेका छन्। आफ्नो जीवनमा घनिष्ठ सम्बन्ध हुन पुगेका साथी र उनीहरूसँग भएका राम्रा/नराम्रा घटना र सन्दर्भ समेट्दै पाण्डेले जीवनको संस्मरण ‘यार’ तयार पारेका छन्। जीवनमा भएका घटनामा कहिले कुन घटना घट्यो? त्यसमा आफ्नो के दोष छ/थियो? साथीको के दोष छ/थियो? यसै विषय समेटेर ‘यार’ तयार पारेको पाण्डे बताउँछन्।

‘जीवनमा धेरै घटना भए, कहिले सुखद त कहिले दुखद’, उनले भने, ‘जीवनमा आएका समस्यालाई त्यसै छोड्यौँ कि कसरी समाधान गर्‍यौँ? यो विषयलाई कोट्याएर लेख्ने प्रयास गरेको छु।’ आफूले सात\आठ वर्षको उमेरदेखि भोगेका घटनालाई उनले आफ्नो संस्मरणमा समेटेका छन्। उनी भन्छन्, ‘जब मैले अलिअलि मित्रताको अर्थ बुझ्न थालेँ, त्यहाँदेखिको स्मरणलाई समावेश गरेको छु। यसमा वर्ष दिनअघिसम्मको मेरा मित्रहरूसँगको विभिन्न घटना क्रमलाई लेखेको छु।’ उनी यस पुस्तकमा साथीको मूल्यांकन र व्यक्तित्वको चर्चा भने नगरेको बताउँछन्।

उनले पुस्तकमा साथीसँगका सानासाना घटनालाई पनि समेटेका छन्, जसले उनको जीवनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। ‘साथीको व्यक्तित्वभन्दा पनि साथीसँगका साना कुरालाई समेटेको छु। कहिले साथीसँग झगडा भयो होला? के कारणले भयो? यस्ता ससाना कुरालाई पनि कोट्याउने प्रयास गरेको छु।’ यस पुस्तकमा आफ्ना कमजोरीलाई लेखेको पाण्डेले दाबी पनि गरे। ‘यार’ आत्मकथा नभएर जीवनका विशेष घटनाको संस्मरण मात्र भएको उनी बताउँछन्। ‘यो कसैको आत्मकथा होइन। न त कुनै व्यक्तिका बारेमा यो यस्तो छ, त्यस्तो छ भनेर लेखिएको हो’,  भन्छन्, ‘यो त साथीसँगको संगतका एउटा एउटा घटनाको संस्मरण हो।’ ‘यार’ संस्मरणमा उनले २५ वटा विषय समावेश गरेका छन्। केही विषय पहिला पनि पत्रपत्रिकामा छापिएका भए पनि धेरैजसो नयाँ भएको उनी बताउँछन्।

‘यार’मा धेरै पृथक विषय भेटिने उनको दाबी छ। ‘यो पढ्दै गर्दा पठकलाई कथा जस्तो लाग्नेछ। मेरो जीवनमा आइपरेका सत्य घटनालाई मैले कथा जस्तो बनाएर प्रस्तुत गरेको छु’, उनले भने, ‘हुनत सबै साथीहरूलाई समेट्न पनि सकेको छैन। सबै साथीहरूसँग सुमधुर सम्बन्ध छ तर सबै सुमधुर सम्बन्धलाई लेख्न पनि सकिँदैन।’ धेरै घटनाक्रम पनि भएका तर सबै लेखनयोग्य नहुने उनको भनाइ छ। ‘यसमा मैले त्यस्ता घटनाक्रम उठाएको छु, जसले मेरा सोचामा हस्तक्षेप गरे।’ पुस्तकमा विद्यालय, गाउँका साथीदेखि साहित्य र चलचित्र क्षेत्रका साथीहरूसँगको घटनाक्रमलाई समेत समेटिएको उनी बताउँछन्। उनले पुस्तकबाट आफू कहाँ चुकेँ भन्ने मनन् गरेको पनि बताए। यस पुस्तकबाट समाज, सम्बन्ध र मान्छेका चरित्र प्रष्ट देखिने लेखक पाण्डेको दाबी छ।

साभार : थाहा खबर

Comments

comments