सडकमा मागेरसमेत खान नसक्नेको चम्कियो मुहार

चितवन– आफै बेवारिसे भएका मकवानपुर कुलेखानीका ७१ वर्षीय हेमन्तकुमार लामा नौ महिनाका बालक ‘सर्वोत्कृष्ट’लाई काखमा राखेर खेलाउँदै थिए । लमजुङको सडकमा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाबाट जन्मिएका हुन् ‘सर्वोत्कृष्ट ।’

लामालाई नारायणगढको सडकपेटीमा बेवारिसे अवस्थामा फेला पारी तीनहप्ता पहिले उद्धार गरिएको थियो । दुवैजनाको भेट मानवसेवा आश्रम चितवनमा भएपछि अहिले दुबैजना हजुरबुबा–नाति झैँ खेल्दै छन् । पहिले आफैँ बेसहारा लामा अहिले अरु बेसहारालाई सहारा दिन थालेका छन् ।

मानसिक समस्या रहेको लामाको अहिले मुहार चम्किलो बन्दै गएको छ । सर्वोत्कृष्ट र उनकी आमाको अवस्था पनि चम्किलो भएको रेखदेख गर्दै आएकी अभियन्ता रुपा केसी बताउँछिन् ।

अर्की महिला ‘गीता मानवसेवा’ लाई सडकपेटीबाट उद्धार गरिएको दुई वर्ष भयो । अहिले उनी आश्रममा अरुको स्याहारमा जुटेकी छन्, उद्धारताका उनको हातमा कीरा परेर औँला झरेको थियो तर अहिले कीरा परेको घाउमा खाटा बसिसकेको छ, मुहारमा चमक छाएको छ । आश्रमका अन्य असहायको सेवामा जुट्दै गीता सरसफाइ पनि गर्छिन् ।

गोरखाबाट उद्धार गरेर ल्याइएका रघुवीर अछामी पनि अन्य असहायको रेखदेखमा खटिएका छन् । शुरुमा उनको खुट्टामा ठूलो घाउ थियो । घाउमा कीरा पनि परेको थियो । मानसिक अवस्थासमेत ठीक थिएन । “पहिले ड्रिङ्क गर्थें, दिमाग खुस्केको थियो, अहिले सब ठीक भा’छ, आफ्नो अनुभव बताउँदै अछामीले भने “ल हेर्नुस् कीरा परेको ठाउँमा खाटो ।”

यी प्रतिनिधि पात्रमात्रै हुन् । पाँच वर्षमा यस्ता एक हजारलाई सडकबाट उठाएर ३०० भन्दा बढीलाई परिवारमा समेत पुनर्मिलन गराइसकेको मानवसेवा आश्रममा आज आयोजित पत्रकार सम्मेलनमा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

स्नेह र मायाले नै उनीहरुमा परिवर्तन आइहाल्ने त्यसपछि नियमित मनोविमर्श, सरसफाइ, औषधोपचारले कतिपयको पुरानै जीवन फर्किएको उनी बताउँछन् । दशकौँदेखि घरैमा दाम्लोमा बाँधिएर बस्न बाध्य मनोरोगीदेखि बलात्कारपछि सडकमै आश्रय लिने गर्भवतीसम्मलाई उद्धार गरी परिवारले नपाएको माया आश्रमले दिंदै आएको छ ।

सानी बालिका खुशी र बालक सम्भव यसैका उदाहरण हुन् । “शब्दमा बयान गर्नै नसिक्ने गरी सडकमा भेटिन्छन्”, समाजसेवी प्रेमप्रभा अधिकारी उद्धारको अनुभव सुनाउँछन् ।

चितवनमा अहिले ५८ जना यस्ता असहाय छन् । जसमा चार बालबालिका छन् । मानसिक स्थिति ठीक नभएकाले केही आमालाई आफ्नो बच्चा भन्ने ज्ञानसमेत छैन, आश्रमकी अभियन्ता निता केसी भन्छन् । सडकमै हुँदा बलात्कृत भएर गर्भवती अवस्थामा उद्धार गरी आश्रममा ल्याएर जन्मिएका बालबालिका अहिले हलक्क बढ्दै छन् ।

अशक्त, अपांग र मनोरोगीको स्याहारसुसार गर्नु यहाँका अभियन्ताको मुख्य काम हो । शरीरमा घाउ भएर कीरा परेको कुहिएको अवस्थाबाट पनि धेरैको उद्धार भएको छ । ‘सडक सेवा’ मार्फत राति सडकमा यस्ता व्यक्ति कहाँ कहाँ छन् भनेर खोजी गरी उद्धार गर्ने गरिएको छ ।

आश्रमका अभिभावक तथा सामाजसेवी प्रभातकुमार जोशीले उनीहरुको स्याहार गर्न भाडाको घर सकस भएकाले सबै मिलेर आश्रमलाई व्यवस्थित बनाउने योजनासहित जग्गाको बन्दोबस्ती गर्नतर्फ लागेको बताउँछन् ।

यसरी शुरु भयो उद्धारको काम

२०६६ सालबाट शुरुमा विभिन्न जिल्लाका स्कूलमा नैतिक शिक्षा दिन थालियो पछि सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनको नाममा काठमाडौबाट नैतिक शिक्षा दिन थालिएको थियो । यसको अगुवार्इ पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले गरेका हुन् ।

त्यसपछि सडकको अवस्था दयनीय देखेर उद्धार गर्ने सोच पलायो । विसं २०६९ बाट आश्रम नै चलाइ मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकालाई उद्धार गर्ने र उपचारपछि परिवारमा पुनर्मिलन गराउने नमूना काममा युवा स्वयंसेवी भएर लागिपरेका छन् ।

आश्रम २०८२ सालसम्ममा नेपालका सडकमा कष्टकर अवस्थामा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको आश्रमले जनाएको छ तर स्रोत व्यवस्थापनका लागि स्थानीय सरकारबाट सहयोग नपाउनु नै चुनौतीको विषय बन्ने गरेको अनुभव अभियन्ताको छ ।

Comments

comments