हिउँ परेपछि ढोरपाटनका स्थानीय हर्षित

बागलुङ – बागलुङको पर्यटकीय स्थल ढोरपाटन क्षेत्रमा गत राती हिउँ परेको छ ।

राती करिब १ः३० बजेदेखि विहान ५ बजे सम्म हिमपात भएको नेपाली सेनाको हनुमानध्वज गुल्ममा कार्यरत सेमन सुनुवारले जानकारी दिए । कम्तिमा १ फिट जति हिमपात भएको सुनुवारको भनाई छ ।

ढोरपाटनमा यस वर्षको यो पहिलो हिमपात हो । हिमपातले वातावरण चिसो बनाए पनि अहिले विहान पारिलो घाम लागेकाले त्यत्ति जाडोको अनुभूति नभएको स्थानीय हिरा कुमारी अदैले बताइन् ।
बिहानै घाम (सूर्योदय) लागेकाले ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र चित्ताकर्षक भएको स्थानीयहरुले बताएका छन् ।

ढोरपाटन नगरपालिकाको बोवाङ, अधिकारी चौर र निसी खोला लगायत जिल्लाको माथिल्लो भेगमा हिमपात भएको स्थानीयले जानकारी दिएका छन् ।

यता गल्कोट नगरपालिकाको पर्यटकीय स्थल घुम्टे पहाड, पाण्डवखानीको धुरी, हटियाको धुरी लगायतका स्थानमा समेत हिमपात भएको छ ।

पानी परेपछि अबका दिनमा गर्मी बढ्ने विश्वास गरिएको छ ।

हिमपातले रवि बाली राम्रो हुने किसानहरुको भनाई छ ।

Comments

comments