नढलेको स्कूल र नउठेका विद्यार्थी

मिमराज पाण्डेय

केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले । पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो र खेत जोतेका गोरुहरु ढले । मओवादी जनयुद्धसँगै छुवाछुत र छाउपडी ढल्यो । जाँड, रक्सी र जुवा–तास बन्द भयो । छोरीले पढ्नु हुदैन र पढाउनु पनि हुदैन भन्नेहरुको कुबुद्धी ढल्यो । स्कूलको धूपीको छानो खाने धमिराहरु पनि ढले, स्कूल ढलेन ।

प्रसंग हो मेरै गाउँको बुढो स्कूलको अर्थात् बा’हरुले बाह्रखरी सिकेको स्कूलको । यो स्कूल स्थापनाकाल देखि नै जस्ताको त्यस्तै छ । त्यस्तै पनि छैन । कामजोर छ,  दुर्बल छ र नाजुक छ । “बा’हरुले कक्षा ५ सम्म जे पढ्थे/सिक्थे छोराहरुको पालामा त्यति पनि सिकिदैन/सिकाइदैन रहेछ ।” यहि भन्छ हरेक वर्ष छोराहरुकै नतिजाले र यहि भन्छन् गाँउबाट पढ्न सहर झरेकाहरुले ।

तनावै–तनावमा भएको विरामीले ‘धेरै तड्पिनु भन्दा चाँडै मर्न पाए हुन्थ्यो’ भन्ने कामना त्यसै गर्दैन । स्याहार गर्दागर्दै सुधार नभएपछि उसका स्याहारेले त्यसै सोच्दैनन्– “बरु चाँढै मर्दिए हुन्थ्यो यति दुख हुनु भन्दा त ।” आफूले नसकेको र अरुले नगरेको देख्दा यस्तै लाग्छ– त्यो स्कूल पनि किन ढलेन ।

स्कूल ढल्नै पर्ने त होइन र विद्यार्थी उठ्नै नपर्ने पनि होइन । तर स्कूल मात्रै ढलेको छैन ।

“मैले त पढ्नै सकिन” भन्नेहरु अरबमा छन् । “मैलै त कमाउनै सकिन” भन्नेहरु बम्बईमा छन् । खेत भएकाहरु खाडीमा, परिवार गाउँमा, पौरख परदेशमा । गाँउमा त छोराछोरी मात्रै छन्, पढ्न नसक्ने र कमाउन नसक्नेहरुका ।

उनीहरुले विद्यालयमा के पढ्छन् होला ? घरमा के सिक्छन् होला ? अहिले कसैले नसोधौँ र नसोचौँ । उमेर भएपछि बुझुन् या पछुताउन् छोडिदिउँ तिनीहरुकै भागमा ।

हातमा सिगाँन फुटेर चिरा, माटोले कुर्कुच्चा फुटेर चिरा । चाक फुटेको पाइन्ट, टाँक झरेर गाँठा पारेको कमिज । कहिलेकहीँ जुत्ता, कहिले चप्पल त कहिले खाली खुट्टै घर–स्कुल, स्कुल–घर गर्न दिउँ अझै केहि दशक । जाउँन् न उनीहरुपनि केहि दशकका लागि खाडी । हराउन् उनीहरुका केहि पुस्ता पनि मुग्लान तिरै ।

गाउँमै भएका, पढे–लेखेकाहरु हो; बालबालिकाको भविष्य तिम्रो चिन्ता होइन । किसानको उब्जनी तिम्रो चिन्ता होइन । हटेरुको कमाइ तिम्रो चिन्ता हाइन । परदेशीको पीडा तिम्रो सरोकार होइन । गाउँको विकास र समृद्धि त तिम्रो बसमा छैन । त्यसैले तिमी आफूलाई नेता बनाइरहु । खाली बस्नु भन्दा गाउँमा बाकीँ रहेकाहरुलाई बटुल । उनीहरुलाई राजनीति सिकाउँ । सके तिम्रा कार्यकर्ता बनाउ–फकाउ । नसके भड्काउ र लडाउ एक–आपसमा ।

अरब छिरेकाहरु कमाई राम्रो भएपछि निस्किउन् या कमाई गुमाएपछि । हटेरुहरु जहानलाई लुगालत्ता किनीसकेपछि फर्किउन् या लुटिएपछि । महरु पढाइ सकेपछि फर्किउँ या पढ्नै नसकी । तर तिमी त्यहाँ छौँ, त्यसैले स्कूल जाँदै गरेका ती बालबालिकालाई गाँउ छोडेर फेरी कहिल्यै गाउँ नफर्किने वातावरण बनाउ ।

म नडराइ भन्छु– तिमी उठ्नै सकेनौ, म पनि उठ्नै सकिँन । यहीँकै माटोको चक र यहीँकै ढुङ्गे–सिलौटोबाट साक्षर बनेकाहरु कोहिपनि उठ्न सकेनन् । उही खेत, उही खेताला, उही मल र उही विउ; कोहि पनि उठ्न सकेन । यहि सोच र सामथ्र्यले हाम्रो भविष्य पनि उठ्न सक्ने छैन । विक्रम सम्वत् २०२६ सालमा खुलेको यो स्कुल पनि अब ढल्ने छैन भन्न सकिन्न । २६ सालमै बाह्रखरी जानेकाहरु पनि अब नढल्लान् भन्न सकिन्न । तिमी भने जरा मज्जैले गाढेर बस । किनकी, यी सबै उठ्न सके भने तिमी उठ्नै नसकि ढल्नु पर्नेछ ।

***

विस २०२६ सालमा स्थापित श्री भवानी निमावीको भवन । यो विद्यालय आज भन्दा ३–४ वर्ष अगाडी प्राविबाट निमावी भएपनि पठनपाठनको गुणस्तरीयता २६ सालको भन्दा राम्रो हुन सकेको छैन । तस्बिरहरूः उमेश पाण्डे

विद्यालय बन्द रहेको समयमा विद्यालय हाता भित्र गार्इ वस्तु चर्दै ।

२०२६ सालमा स्थापित श्री भवानी निमावीको जिर्ण भवन, जहाँ अहिले पनि पठनपाठन हुन्छ ।

Comments

comments