विद्यालय भूकम्पीय सुरक्षाका लागि ५ वर्षे “सुरक्षित स्कुल परियोजना सुरु”

काठमाडाैँ – भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त रहेका पश्चिम नेपालका विद्यालयहरूलाई सुरक्षित बनाउन बेलायती अन्तर्राष्ट्रिय गैर सरकारी संस्था डीएफआईडीले सुरक्षित स्कुल परियोजना सुरु गरेको छ ।

कर्णाली प्रदेश र प्रदेश नम्बर ५ र ७ का विद्यालयहरू सन् २०१८ देखि २०२३ सम्म लागु हुने ५ वर्षीय परियोजनाले जोखिम न्यूनीकरण गर्नका लागि रेट्रोफिट अर्थात् प्रबलीकरण गर्ने र केही विद्यालयलाई पुनर्निर्माण गर्ने योजना बनाएको छ ।

सरकारको विद्यालय विकास परियोजना अन्तर्गत रही यस परियोजनाले ३ वटा प्रदेशका झन्डै ५ सय सामुदायिक विद्यालयहरूका २५ सय कक्षा कोठालाई भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउन सहयोग पुर्‍याउने शिक्षा विभागका निर्देशक दीपक शर्माले जानकारी दिनुभयो ।

परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै शर्माले विपद् जोखिमयुक्त विद्यालयहरूलाई यो परियोजनाले नयाँ तरिकाले सुरक्षा गर्ने र यसका सिकाइहरूलाई देशभर प्रयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै डीएफआइडीका संरचना सल्लाहकार एलेनोर बेन्ब्रिजले रूपमा विद्यालयहरूलाई र सारमा नेपाली समुदायलाई विपद्को जोखिमबाट जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ५०० विद्यालयमध्ये केहीमा प्रबलीकरण गरेर र केहीलाई पुनर्निर्माण गरेर भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउने उहाँले जानकारी दिनुभयो ।

भूकम्प लगायत विभिन्न प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै जोखिमयुक्त देश हो । अधिकांश विद्यालयहरू भूकम्पीय दृष्टिकोणले कमजोर रहेको अध्ययनहरूले देखाएको छ । २०७२ सालको गोरखा भूकम्पमा धेरै स्कुलहरू ध्वस्त भएका थिए जुन अहिले पनि पुनर्निर्माणको चरणमा छन् ।

Comments

comments