दोस्रो मनमोहन स्मृति यु १६ अन्तर प्रदेश राष्ट्रिय क्रिकेट बैशाख १८बाट

३ बैशाख २०७६ । काठमाण्डौ–  आगामी बैशाख १८ गतेबाट राजधानीमा दोस्रो मनमोहन स्मृति यु १६ अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।

तात्कालिन् एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको १३ बैशाखमा स्मृति दिवस पारेर विगतको वर्ष झैँ सो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस वर्षको प्रतियोगितामा प्रत्येक प्रदेशबाट एउटा टीम रहने गरी सातवटा टिमको सहभागीता रहने छ र सात वटै प्रदेशका टीममा १६ वर्ष मुनीका खेलाडी रहने ।

प्रतियोगितामा पहिलो हुने टिमले नगद र खेल सामग्री गरी पाँच लाखको पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद र खेल सामग्री गरी २ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ । विजेता र उपविजेता दुबै पुरस्कारको आधा रकम नगद र आधा रकम बराबरको खेलकुद सामग्री रहने क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले अल्पविरामलाई जानकारी दिनुभयो ।

प्रतियोगिताका खेलहरु त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा हुने छन् । बैशाख २४ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ खेलहरु हुनेछन् । खेलहरु सेतो जर्सी र रातो बलमा खेलाइने छ ।

गत वर्ष बैशाखमा भएको मनमोहन स्मृति यु–१६ अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर ७ ले जितेको थियो ।

Comments

comments